नियमित योगाभ्यासका लागि समिति

सबैला (धनुषा) । सबैला नगरपालिका –१ वडा कार्यसमितिले आयोजना गरेको ध्यान एवम् योग सप्ताह कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
गत ७ गतेदेखि सुरु भएको सप्ताहमा शरीर शुद्धिका लागि योग र मन शुद्धिका लागि ध्यानको अभ्यास गराइएको थियो । योग प्रशिक्षक जगदीश ठाकुरले सहभागीहरुलाई विधिपुर्वक ध्यान र योगको अभ्यास गराएका थिए । ठाकुर भारतस्थित आयुष मन्त्रालय अन्तरगत योगा इभ्यालुएटरको अध्ययन गरेका हुन् ।
दैनिक ४० देखि ५० जनासम्म सहभागी रहेको ध्यान एवम् योगा सप्ताहमा महिलाको सहभागीता उल्लेख्य रहयो । सहभागीहरुको माग बमोजिम बिहीबार सप्ताह समापन अवसरमा वडा सदस्य राजेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय ध्यान–योग समिति गठन गरिएको छ । समितिमा मञ्जु साह, अमृता साह, उमेश साह र प्रियंका साह सदस्य छन् ।
सप्ताह समापनको अवसरमा वडा सदस्य यादवले अगामी आर्थिक वर्षभित्रै सञ्चालनमा आउनेगरी वडा क्षेत्रभित्र योगा भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सप्ताह तत्काल समापन भएपनि योगाभ्यास भने निरन्तर जारी राख्ने बताएका छन् ।
वडा अध्यक्ष मिथिला शाहको अगुवाईमा आयोजित ध्यान एवम् योग सप्ताहलाई प्रभावकारी बनाउन स्थानीय सामाजिक अगुवाहरु रामभक्त जयसवाल र उमेश साहले सक्रियता देखाएका थिए ।