आईसीसी टी–२० विश्वकप : पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित

एजेन्सी । आईसीसी टी–२० विश्वकपको तयारीको क्रममा रहेको नेपाल पहिलो वार्मअप खेलमा पराजित भएको छ । अमेरिकाको डालासमा भएको वार्मअप खेलमा क्यानडाले नेपाललाई ६३ रनले पराजित गरेको छ । क्यानडाले पहिलो पटक विश्वकप खेल्दैछ ।
टस जितेर नेपालले पहिलो फिल्डिङ्ग रोजेपछि पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ८३ रन बनायो । उसका लागि निकोलस किर्तनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेले ।
नवदीत दलिवाल ३२, परगत सिंह १३, एरन जनसन १० रन बनाएर आउट भए भने रविन्दरपाल सिंह नटआउट रहँदै १७ बलमा ४१ रनको विस्फोटक पारी खेले । डिलोन हेगलाइगरले ७ बलमा १३ रन बनाएर अविजित रहे ।
नेपालका अविनाश बोहराले दुई तथा सागर ढकाल, ललित राजवंशी, गुल्सन झा, सोमपाल कामी र करण केसीले समान एक–एक विकेट लिए ।
१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटियो । नेपालका लागि कुशल मल्लले ३० बलमा बनाएको ३७ रन नै सर्वाधिक रह्यो ।
अनिल शाह २४, आशिफ शेख २२ र कुशल भुर्तेलले १० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सन्दीप जोरा ६, सागर ढकाल ५, सोमपाल कामी ४, कप्तान रोहित पौडल १ रनमा आउट भए भने गुल्सन झा र अविनाश बोहरा डकआउट भए । करण केसी पाँच रनमा नटआउट रहे ।
नेपालले अब दोस्रो वार्मअप खेल बिहीबार राति सवा ९ बजे आयोजक अमेरिकाविरुद्ध सोही खेल मैदानमा खेल्नेछ ।