भत्कियो गणेशमानचारनाथ नगरपालिकाको नयाँ पर्खाल

जनकपुरधाम । धनुषास्थित गणेशमान चारनाथ नगरपालिकाको कार्यालय क्षेत्र घेराबेरा गर्न निर्माण गरिएको नयाँ पर्खाल ढलेको छ । बुधबार बिहान भएको वर्षाले पर्खाल ढलेको हो ।

भर्खरै निर्माण कार्य सकेर रङ्गरोगन गरिएको नयाँ पर्खाल समान्य वर्षाले कसरी ढल्यो भनेर स्थानीय स्तरमा चासोको विषय बनेको छ । स्थानीयले कमसल निर्माण सामग्रीको प्रयोग गरिएको हुँदा पर्खाल बलियो हुन नसकेको आरोप लगाइरहेका छन् ।

‘नगरपालिकाका कर्मचारी र ठेकेदार एउटै व्यक्ति भएपछि यस्तै काम हुने हो’ स्थानीय एक जना निर्माण व्यवसायीले न्यूज आजसँग भने, ‘भित्रभित्र कर्मचारी र ठेकेदार मिलेर बढी रकम बचाउन दुई–तीन नम्बर ईंटाको प्रयोग र सिमेन्टको मात्रा कम हालेर निर्माण गरिएको हो । अहिले समान्य वर्षापछि अवस्था छरपस्ट भइसक्यो ।’

नगर प्रमुख जितनारायण यादवले कर्मचारीको लापर्बाहीको कारण नगरपालिका कार्यालय परिसरको नयाँ पर्खाल भत्केको बताएका छन् । ‘१० फिट अग्लो पर्खाल छ, फेदमा माटो पुरिएकै छैन’ नगर प्रमुख यादवले भने, ‘मैले एक महिनादेखि पर्खालको दुवै छेउमा माटो पुर्न ताकेदा गरिरहेको छु । तर, कर्मचारीहरुले अटेर गरिरहेका छन् । यसैको परिणाम हो पर्खाल खस्यो ।’

नगरपालिकाका योजना शाखा प्रमुख जितेन्द्र मण्डलले पनि अग्लो पर्खाल निर्माण गरिएको तर फेदमा माटोको सपोर्ट नदिँदा पर्खाल भत्केको बताउँछन् । उनले भने, ‘पर्खालको उचाईको आधारमा फेदमा माटोको सपोर्ट नदिँदा पर्खाल भत्केको देखिन्छ । तर, यसको वारेमा प्राविधिकसँग बुझ्नुस् ।’

नगरपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर लखनदेव यादवले काम गलत भएको स्वीकारे । पर्खाल निर्माण गर्ने तर माटो नपुर्ने लापर्बाही भएको उल्लेख गर्दै उनले भने, ‘यो पर्खाल निर्माण सम्पन्न भएपनि ठेकेदारले रकम पाइसकेको छैन । अब उसैले अर्को पर्खाल बनाउनुपर्छ ।’

Facebook Comments Box
न्यूज आज