तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुन्छ : रक्षामन्त्री उप्रेती

जनकपुरधाम । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने दाबी गरेका छन् ।
शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो व्यक्तिगत कुण्ठा, आकंक्षाहरू नपुगेका कारण विभिन्न किसिमका हल्लाह फिजाइएको बताए । उनले सही कुरालाई सही भन्न र गलत कुरालाई गलत भनेर राष्ट्रिय गौरवका योजनाबारेमा अवगत गराउनसके थोरै वर्षहरूमा मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।
रक्षामन्त्री उप्रेतीले काठमाडौं-तराई-मधेश द्रुतमार्ग नेपाली सेनाको कारणले नभई राज्यका तर्फबाट नै आवश्यक ऐन, कानुन, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको बताए । उनले अहिले द्रुत गतिमा काम भइरहेको र यही हिसाबले काम भइरहे २०८३ सालको चैतसम्ममा काम सम्पन्न भई सवारी सञ्चालन हुने प्रतिबद्धता जनाए ।
मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोग स्वरूपप्राप्त भई दर्ता हुन नसकी विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ९५ वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको बताएको छ ।
नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न कोरिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने, रक्षा मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन कार्यसम्पादन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएको जनाएको छ ।