अतिवृष्टिले सम्भावित स्वास्थ्य प्रभाव नियन्त्रणका लागि निर्देशनालयको सक्रियता

जनकपुरधाम । शनिबारदेखि सुरु भएको अतिवृष्टिको कारण सम्भावित स्वास्थ्य समस्यासँग लड्न पूर्व तयारीका लागि मधेश स्वास्थ्य निर्देशनालयले सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेको छ ।
निरन्तर तीन दिनसम्म अतिवृष्टि हुने पूर्व अनुमान अनुसार शनिबार बिहानैदेखि तराई मधेशका जिल्लाहरुमा भारी वर्षा भइरहेको छ । लामो समयसम्म अतिवृष्टि हुँदा मानव स्वास्थ्यमा प्रभाव पर्न सक्ने सम्भावना हुन्छ । त्यस्तो अवस्थाका लागि पूर्व तयारी आवश्यक रहेको ठानेर निर्देशनालयले शनिबारै दिउँसो बैठक बसेर छलफल गरेको छ । भौतिक रुपमा तत्काल बैठक सम्भव नभएकाले भर्चुअल माध्यमको प्रयोग गरिएको निर्देशनालयका प्रतिनिधि युगल यादवले जानकारी दिए ।
मधेश प्रदेशमा अतिवृष्टिका सम्भावित स्वास्थ्य समस्याको प्रभावलाई ध्यानमा राखेर राखिएको भर्चुअल बैठक शनिबार चार बजेदेखि ५ः२० बजेसम्म सञ्चालन भएको थियो । मधेश प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकका सहभागी सरोकारवाला पक्षलाई मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंहले पूर्व तयारीको रुपमा तैनाथ रहन निर्देशन दिए ।
बैठकमा आकस्मिक स्वास्थ्य तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकी र समन्वय महाशाखा प्रमुख डा. भिम सापकोटाले आवश्यक मार्गदर्शन दिनुका साथै परेको बेला हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक निलराम्बा अधिकारी, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. जामुन प्रसाद सिंह, प्रदेशस्थित विभिन्न अस्पतालका प्रतिनिधिकहरु, जिल्ला स्वास्थ्य कार्यालयहरुका प्रमुख, विभिन्न स्थानीय तहका पालिका स्वास्थ्य संयोजकहरु, विश्वास्थ्य स्वास्थ्य संघ, युनिसेफ र युएनएफपिए लगायत साझेदार निकायका प्रतिनिधिहरु बैठकमा सहभागी थिए ।
बैठकमा सहभागी विभिन्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुले जिल्लास्तरीय अद्यावधिक योजनाहरु प्रस्तुत गरेका थिए । अस्पताल प्रतिनिधि तथा पालिका स्वास्थ्य संयोजकहरुले आ आफ्नो क्षेत्रको अवस्था प्रस्तुत गरेका थिए ।
अतिवृष्टिका कारण सम्भावित स्वास्थ्य समस्या देखिए लगत्तै तत्काल संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयको माध्यमले स्थितिलाई नियन्त्रणमा लिन तयारी अवस्थामा रहन सबै जिम्मेवार निकायलाई निर्देशन दिइएको छ । प्रभावकारी स्वास्थ्य प्रतिकार्य सुनिश्चित गर्न सबै निकाय उच्च सतर्कता अपनाउन बैठकबाट प्रतिबद्ध भएको यादवले जानकारी दिए ।