‘बोल्न पाउने हक’को लागि लड्ने नेता कृष्णा

रुपेश महतो

माथि राजा, तल तिनकै आसेपासेको शासन मान्न बाध्य थिए नेपाली जनता । अहिलेको जस्तो मन लाग्यो कि एउटा राजनीतिक दल गठन गरिहाल्ने अधिकार थिएन जनतालाई । जनता भनेको राजा र पञ्चहरुको आदेश पालक हुनुपथ्र्यो । जतिसुकै अन्याय भएपनि विरोधमा बोल्न पाउने छुट थिएन । नेपालमा यस्तो राजनीतिक परिवेश थियो, २०३६ सालतिर ।

पछिल्लो समय नयाँ पुस्ता (जेन जी) ले गरेको विद्रोह जस्तै त्यसबेला विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुले प्रजातन्त्र र बहुदलीय राजनीतिक व्यवस्था आउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको अगुवाइ विद्यार्थीहरुले गरेका थिए भने प्रजातन्त्र पक्षधर जनताले पनि समर्थन जनाइरहेका थिए । बहुदल र निर्दलको पक्षमा नाराबाजी भइरहेका थिए । त्यहीँ भिडमा एकजना बालक बहुदलको पक्षमा नाराबाजी गरिरहेको देखिन्थे । ती बालक थिए, पाँच कक्षा पढ्ने विद्यार्थी, कृष्णा (कृष्णप्रसाद) यादव । हुन त बहुदल र निर्दलको वारेमा त्यो बेला उनलाई कुनै ज्ञान थिएन । तर, बहुदल पक्षीय वातावरणको प्रभाव उनको मानस पटलमा बसेको बुझ्न सकिन्थ्यो ।

२०४१ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि कृष्णा आइ.एस.सी.पढ्न गए । २०४२ सालमा सत्याग्रहमा सहभागी भएर राजनीतिमा सक्रिय हुन थाले । २०४६ सालमा सुरु भएको प्रजातान्त्रिक आन्दोलनमा होमिएका कृष्णाले देशको संविधानसहित राजनीतिक व्यवस्था फेरिएपछि भएको पहिलो संसदीय निर्वाचनमा परिवर्तन पक्षधर अर्थात् कांग्रेस नेता उद्धब ढकाललाई जिताउन कम्मर कसेर लागे ।

आन्दोलनको सक्रियासँगै पञ्चायत विरोधी चुनावमा खेलेको भूमिकाको कारण ‘लोकल लिडर’को रुपमा स्थापित भइसकेका थिए कृष्णा । राजनीतिमा एउटा होनहार युवाको प्रभावले कृष्णालाई २०४९ सालको स्थानीय निर्वाचनका लागि गाविस अध्यक्षको उम्मेदवार भइदिन प्रस्ताव आयो । तर, कानूनले तोकेको उमेर पुग्न तीन महिना घटी भएकै कारण उनी चुनाव लड्न पाउने अवस्था भएन । अन्त्यमा बुवालाई उम्मेदवार बनाए र जिते पनि । बुवा गाविस अध्यक्ष भइसकेपछि कृष्णाले पढाइसँगै राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय हुन थाले ।

२०५१ सालमा नेपाली कांग्रेसको क्रियासिल सदस्यता प्राप्त गरे । सोही वर्ष भएको संसदीय निर्वाचनमा ढकाललाई जिताउन सफल भएपछि उनको प्रभाव पार्टीमा पनि राम्रै बन्यो । स्नातकसम्म अध्ययन गरेका कृष्णा २०५४ सालमा भएको स्थानीय चुनावका लागि पनि गाविस अध्यक्ष पदको लागि उम्मेदवार बन्न अफर पाए । तर, त्यो बेलासम्म उनलाई आफू संसदीय राजनीतितिर जानुपर्ने सोच बन्यो र फेरि बुवालाई नै उम्मेदबार बनाए । उनको बुवा दोस्रो पटक जितेर गाविस अध्यक्ष भए ।

२०५५ सालमा कृष्णा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भए र अर्को वर्ष (२०५६) मा महासमिति सदस्य चुनिए । त्यसयता आजका दिनसम्म पार्टी महासमिति सदस्यको रुपमा जित्दै आएका उनी २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा देखाएको सक्रियताले नयाँ राजनीतिक उचाइमा पुगे । २०६४ सालमा पहिलो पटक संविधानसभा सदस्य निर्वाचित भएका कृष्णालाई २०६७ सालमा भएको जिल्ला अधिवेशनबाट कांग्रेसले सभापतिको जिम्मेवारी सुम्पियो । जिल्ला पार्टीको असल अभिभावकको रुपमा जिम्मेवारी निर्वाह गरेकै आधारमा २०७२ सालमा भएको अर्को अधिवेशनले पनि उनलाई सभापति पदमै दोहो¥याउन दबाव दियो ।

संविधानसभाबाट पहिलो पटक नेपालमा संविधान निर्माण भएर लागु भएपछि मुलुक संघीयतामा प्रवेश गरिसकेको थियो । सोही संरचना अनुरुप पार्टीको नयाँ नेतृत्व चयनका लागि पहिलो पटक २०७८ सालमा प्रादेशिक अधिवेशन भयो । त्यो अधिवेशनले कृष्णालाई ऐतिहासिक जिम्मेवारीमा पु¥याउँदै नेपाली कांग्रेस मधेश प्रदेशको सभापति चयन ग¥यो । त्यसको अर्को वर्ष भएको निर्वाचनबाट प्रदेशसभा सदस्य पदमा जितेपछि प्रदेशसभा संसदीय दलको नेताको पनि जिम्मेवारी पाए । अर्थात् पार्टीको भूमिकामा आएदेखि दुई कार्यकालसम्म जिल्ला सभापति र एक कार्यकाल प्रदेशसभापतिको जिम्मेवारी पाए । अहिले पनि उनी प्रदेशसभापति र प्रदेश कांग्रेस संसदीय दलको नेता पदमा वहाल छन् ।

सक्रिय राजनीतिमा लागेदेखि कृष्णाले निरन्तर पाउँदै आएको सफलताले राजनीतिक प्रतिस्पर्धीहरुको लागि टाउको दुखाइ बनिरहेको छ । हालै कृष्णाले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने वातावरण बन्न थालेपछि उनको नेतृत्ववारे बुझेकाहरुमा उत्साह बढेको देख्न सकिन्छ ।

दलको नेताको हैसियतमा पार्टीको नेतृत्व गर्दै कृष्णाले सरकारमा प्रवेश गरेपछि तत्कालिन बेथिति र सरकार विरुद्ध देखिएको चरम असन्तुष्टीलाई केही हदसम्म सम्बोधन गर्न सफल भए । सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा काम गर्ने अवसर पाएपछि उनको काम गर्ने शैलीले पूर्वाधारको विकासमा रुपान्तरणको संकेत देखिन थालिइसकेको थियो । तर, त्यो सरकारको आयु नै छोटो हुनपुग्यो ।

अर्को पटक पुनः कांग्रेसले सरकारमा सहभागी हुने अवसर पाएपछि कृष्णाले आफू पार्टीको नेतृत्वमा सिमित रहेर बाहिरबाटै सपोर्ट हुनेगरी अन्य सांसदहरुलाई अवसर प्रदान गरे । संसदीय दलको नेताको हैसियतमा रहेको त्यो अवसरलाई पार्टीका लागि योगदान गर्दै उनले देखाएको त्यागको पनि सर्वत्र प्रशंसा भएको थियो । त्यस अर्थमा पनि अब सरकारको नेतृत्व गर्ने अवसर पाए कृष्णाले नवपुस्ताको पछिल्लो आन्दोलनको भावनालाई समेत सम्बोधन हुने गरी ‘परफर्मेन्स’ दिन सक्ने विश्वास पार्टीपंक्तिमा देखिन्छ । देशको शासन व्यवस्थामा नागरिकको सहभागिता र नेतृत्व पंक्तिबाट सुशासन कायम हुनुपर्ने सोच लिएर निरन्तर संघर्ष गर्दै आएका उनले सरकारको नेतृत्व गर्न पाए मात्रै सबल र दुर्बल पक्षको मूल्यांकन गर्न सकिने ती नेताहरु बताउँछन् ।

Facebook Comments Box