माधव–उपेन्द्र पार्टी एकताको बाटोमा
माधव–उपेन्द्र मिलेपछि फेरिन्छ त सरकार ?

जनकपुरधाम । सत्ता समिकरणको सवालमा यतिबेला फेरि नेपाली राजनीति दुई कित्तामा ध्रुविकृत भएको छ । सत्तापक्षले जसरी पनि सरकार टिकाइराख्न अनेक हत्कण्डा अपनाउन उद्धत छ । यता, प्रतिपक्षमा रहेका दलहरुले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीबाट अलग्याउने दाउमा लागिपरेको छ ।
संसदीय निर्वाचन भएको डेढ वर्ष नपुग्दै तीन वटा गठबन्धन फेरिसकेर पनि सत्तामा टाँसिइरहेका दाहालले तल जति हेरफेर भएपनि सरकारको नेतृत्वमा टिकिरहने जोगारमा तल्लिन छन् । यता प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले जसपा नेपाल, एकीकृत समाजवादी, राप्रपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी लगायत दललाई समेटेर बहुमत पु¥याउने कसरतमा छ ।
जसपा नेपाललाई सत्ताकै कारण फुटाइएको घटना सेलाइसकेको छैन । त्यस्तै परे एकीकृत समाजवादी पार्टीलाई पनि फुटाउन सकिने सम्भावना देखिएपछि माधव नेपाल पनि चिन्तित छन् । जसपालाई फुटको मान्यता अदालतबाट पाउने सम्भावना कम देखिरहेका उनले भोली आफ्नो पार्टीसँग पनि त्यहीँ हविगत हुन सक्ने अनुमान गरेर बचाउको उपायमा लागिरहेका छन् ।
बचाउको विकल्प के त ?
स्रोतको अनुसार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच पार्टी एकताको प्रयास सुरु भएको छ । जसपालाई अदालतले फुटको मान्यता नपाउनेगरी आदेश आइहाल्ने बित्तिकै यी दुई पार्टी एकीकरण भएर संसदमा चौथो ठूलो दल बन्ने दाउमा लागेको हो ।
फुटको मान्यता नपाउँदासम्म जसपा नेपाल कानुनतः राष्ट्रिय राजनीतिक दलको सूचिमा छ । माधव नेपालको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दलको मान्यता पाउन सकेको छैन । यी दुवै एकीकरणसम्मकै निर्णयमा पुगे राष्ट्रिय दलको रुपमा मात्रै स्थापित हुँदैन । दाहाल नेतृत्वको सरकारलाई धक्का दिनसम्मको हैसियतमा पुग्न सक्ने स्थिति छ । त्यसैले घनिभूत रुपमा छलफलगरी यी दुई दल एकता प्रक्रियामा अघि बढेको स्रोतको भनाई छ ।
माधव–उपेन्द्र मिलेपछि फेरिन्छ त सरकार ?
संसदको अंकगणित अनुसार सरकार बनाउन न्युन्तम सांसदको संख्या १३८ आवश्यक पर्छ । अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेससँग ८९ जना सांसद छन् । जसपा फुटको मान्यता नपाएको अवस्थामा माधव–उपेन्द्र मिले २२ जना पुग्छ । राप्रपासँग १२ जना सांसद छन् । जनमतका ६, लोसपाका ४ र नागरिक उन्मुक्ति पार्टीसँग ४ र राष्ट्रिय जनमोर्चा मिलेर तत्काल बहुमत कायम गरी नयाँ सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।