अधिकारकर्मी महिलाको आवाजः राज्यको जवाफदेहिता खै ?

जनकपुर । न्यायका लागि राष्ट्रिय महिला दबाव अभियानले सरोकारवाला न्यायिक निकायहरुलाई जवाफदेही बन्न ताकेता गर्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार जनकपुरस्थित महिला अधिकारवादीहरुको समूहले धनुषास्थित जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहानगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।

‘१७ औं गणतन्त्र दिवस मनाउँदै गर्दा नेपाली समाजका महिलाहरु अनेक प्रकारका हिंसाबाट ग्रसित भइरहेको र न्यायमा महिलाको सहज पहुँच हुन नसकिरहेको अवस्थालाई आज सरोकारवाला निकाय समक्ष ध्यानाकर्षण गराउन बाध्य भएर यहाँ आएका छौं’ प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अधिवक्ता रेखा झाले भनिन्, ‘सामाजिक न्यायका लागि पनि यी निकायहरु अग्रसर हुन आवश्यक भयो ।’

जवाफमा सहायक प्रमुख जिल्ला अधिकारीले आफुहरुले यसका लागि गर्नुपर्ने कामको कार्य योजना बनाएर ल्याउन आग्रह गरे । ‘ज्ञापनपत्र दिएर, खबरदारी गरेर अनि नाराबाजी गरेर मात्र हुनेवाला केही छैन’ उनले भने, ‘हामी जिल्ला प्रशासनले के गर्नुपर्ने हो, अदालतले गर्नुपर्ने के हो भनेर स्पष्ट रुपमा बुझ्नेगरी कार्ययोजना दिनुस् हामी तपाईहरुका साथमा छौं ।’

नेपाल प्रहरीको गत आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार २० हजार ७५३ जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक ७ जना महिला तथा बालिकाहरुमाथि बलात्कार भइरहेको छ । ‘यो मेरो देश हो । यहाँ म सुरक्षित छु । न्याय मेरो पहुँचमा छ ।

मैले न्याय प्राप्त गर्न सक्छु भन्ने भावना हरेक नागरिकमा हुन आवश्यक छ । यसका लागि सरोकारवाला निकाय गम्भिर हुनुपर्यो’ दबाव समूहले दिएको ज्ञापन पत्रमा उल्लेख छ । घरेलु हिंसा सम्बन्धी ऐन २०६६ संशोधन, द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन, यौन हिंसा प्रभावितहरुलाई सार्वजनिक रुपमा गाली गलौज, चरित्र हत्या र मानहानी जस्ता कार्य गर्नेलाई कानुनी दायरमा ल्याउन, सबै तहका अदालतहरुबाट फैसला भएका मुद्दाहरुको कार्यान्वयनको स्थिति पहिचान गरी पीडित तथा प्रभावितले न्याय प्राप्त गर्ने व्यवस्था मिलाउन ज्ञापन पत्र बुझाइएको दबाव समूहले जनायो ।

ओरेक नेपालकी जिल्ला संयोजक विना कुमारी सिंह, महिला मानव अधिकार रक्षक सञ्जालकी प्रदेश संयोजक अधिवक्ता रेखा झा, मानव अधिकारका लागि एकल महिला सञ्जालकी सुभाद्रा आले, इन्सेकका प्रदेश संयोजक राजु पासमान, निलहिरा समाजका प्रदिप यादव, शान्ति पुनस्र्थापनाकी रिना झा, लाली गुराँस किशोरी समूहकी अल्पना महतो, महिला विकास सेवा केन्द्रकी नैनु ठाकुर, विभिएस नेपालकी रिता कुमारी साह, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल र मयुरी मिथिला आर्ट महिला समूहले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: