आजको ५ प्रश्न – ‘खेलकुदमा फर्काउन सकिन्छ जनकपुरको साख’

बाहिर देशमा पनि नेपाल भनेको जनकपुर भनेर चर्चा पाउँथ्यो । पछि जचुकालिसँगै खेल पनि ध्वस्त भयो । न सरकारले न त निजी क्षेत्रले खेलकुदलाई सहारा दियो ।

सञ्चार माध्यम भनेको जनआवाजलाई बुलन्द गर्ने हो । अन्यायमा परेकालाई न्याय प्राप्तिका लागि वकालत गर्ने हो । सुशासनका लागि खबरदारी गर्ने हो । यहीँ मूल उदेश्यका साथ अनलाइनको दुनियाँमा न्यूजआजको उपस्थिति भएको हो । न्यूजआजले हरेक क्षेत्र, समुदाय र भूगोलको भावनालाई सम्बोधन गर्ने संकल्पका साथ ‘अनएयर’ भएको आज तेस्रो दिनसम्म आइपुग्दा अनलाइन पाठकहरुको तर्फबाट अपार समर्थन प्राप्त भएको छ । अगामी दिनमा यो समर्थन निरन्तर रहोस् र अझ जनजनसम्म पुग्ने वातावरण बनाउनका लागि ‘आजको ५ प्रश्न’ सुरु भएको हो । यो स्तम्भमा सर्वसधारण नागरिकदेखि उच्च ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरुको अनुभवलाई पनि प्रस्तुत गर्नेछ ।

सम्पादक

***

जनकपुरधाममा खेलकुदको अवस्था तथा खेलमा युवा पुस्ताको घट्दो आकर्षणबारे मधेश प्रदेश फुटबल संघका उपाध्यक्ष सुरेश शर्मालाई ५ प्रश्न :

१. कुनै बेला जचुकालि (जनकपुर चुरोट कारखाना लिमिटेड) भन्ने बित्तिकै खेलकुद बुझिन्थ्यो । आजभोली के छ जनकपुरमा खेलकुदको अवस्था ?

हो सही भन्नुभयो । आजभन्दा करिब तीन दशक अघिसम्म फुटबल र क्रिकेटका लागि जचुकालिले टिम नै बनाएर सम्पूर्ण व्यवस्थापन गरेको थियो । खेल्नकै लागि युवाहरुले पारिश्रमिक पाउँथे । त्यसबेला मुलुककै उत्कृष्ट टिम जचुकालिको हुन्थ्यो । एकमात्र होइन करिब सबै खेलमा जनकपुरको नाम देशभर कहलिन्थ्यो । बाहिर देशमा पनि नेपाल भनेको जनकपुर भनेर चर्चा पाउँथ्यो । पछि जचुकालिसँगै खेल पनि ध्वस्त भयो । न सरकारले न त निजी क्षेत्रले खेलकुदलाई सहारा दियो ।

२. जनकपुरमा फुटबल कति खेलिन्छ ?

एकदमै कम । नगण्य । खेलको लागि होइन बरु स्वास्थ्यका लागि भनेर पेट घटाउन अलि अलि खेलिन्छ ।

३. सम्भावना के छ ?

सम्भावना प्रचुर छ । खेलाडीलाई व्यवस्थापन र खेललाई उजागर गर्ने हो भने पुरानो साख फर्किन सक्छ । प्रतिभावान युवाहरुको कमी छैन । न प्रशिक्षण छ न त व्यवस्थापन । युवालाई खेल्ने वातावरण बनाउन उसको घरभित्र र बाहिर पनि व्यवस्थापन हुनुपर्ने हो । खेलाडी राम्रो भएपनि उसलाई चाहिने खेल सामग्री र खेल मैदानको उपयुक्त व्यवस्था आवश्यक छ ।

४. कसले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

प्रदेश सरकार र स्थानीय तह मुख्य जिम्मेवार हो । त्यस्तै विद्यालय, उद्योगी व्यवसायी अनि बैंकहरुको पनि दायित्व हुनुपर्ने हो यस क्षेत्रको प्रबद्र्धन । सरकारहरुले बजेटमा खेलकुदलाई प्राथमिकतामा राखेर इमान्दार मनसायले कार्यान्वयन गर्ने हो भने म फेरि भन्छु, जनकपुरको पुरानो साख फर्काउन सकिन्छ ।

५. खेलप्रति युवाक्रेज घटेको जस्तो लाग्दैन ? घटेकै हो । तर, यसको जिम्मेवार को ?

खोज्नुस् न । मेरो विचारमा विद्यालय र अभिभावक मुख्य जिम्मेवार हो । छायाँमा प्रदेश र स्थानीय सरकारहरु पनि । विद्यालय किन जिम्मेवार हो भन्नुपर्दा सामुदायिक विद्यालयमा खेलकुदकै लागि बजेट हुन्छ तर सही अर्थमा खर्च गरिदैन । निजी विद्यालयहरुले खेलकुदकै लागि चर्को शुल्क लिन्छ तर प्रशिक्षक कसैले राख्दैन । विद्यालय समयमा पढ्न र साँझ बिहान खेल्ने होमवर्क दिए हुन्थ्यो । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सन्तुलन बनाउँछ । कुनै पनि बालबालिकाहरु स्वस्थ भए न पढेको कुरालाई दिमागमा सञ्चय गर्न सक्छ । त्यसैले यसका लागि अभिभावकले घरमा मोबाइलको लत लाग्न नदिन र विद्यालयले दैनिक खेलकुदका लागि प्रोत्साहन गर्न सक्नुपर्छ । बाल्यावस्थामा मोबाइल थमाइदिने किशोरावस्थामा मोटरसाइकल । अनि भन्छन् छोरा बिग्रियो । अभिभावकले नै यति गरिदिएपछि त बिग्रिन्छ नि ।

Facebook Comments Box
न्यूज आज