यस्ताे छ आगामी आर्थिक वर्षकाे बजेट विनियाेजन
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । आव २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको सरकारले अर्थ मन्त्रालयलाई कुल विनियोजनको ११.९८ प्रतिशत विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ । दोस्रो स्थानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ । उसका लागि कुल विनियोजनको १०.९५ प्रतिशत अर्थात् २ खर्ब ३ अर्ब विनियोजन गरिएको छ ।
त्यसैगरी गृह मन्त्रालयले कुल विनियोजनको १०.७१ प्रतिशत बजेट पाएको छ । बजेटमा उल्लेख भएअनुसार गृहले कुल १ खर्ब ९९ अर्ब २४ करोड पाएको छ । विकासे मन्त्रालयतर्फ भौतिक, पूर्वाधार तथा यातायातले सबैभन्दा धेरै ८.०९ प्रतिशत बजेट पाएको छ । उसले १ खर्ब ५० अर्ब ५३ करोड पाएको हो ।
सहरी विकास मन्त्रालयले ४.९८ प्रतिशत अर्थात् ९२ अर्ब ६३ करोड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४.६४ प्रतिशत अर्थात् ८६ अर्ब २३ करोड पाएको छ ।
अर्थ मन्त्रालयबाट भुक्तानी हुने अन्य शीर्षकमध्ये आन्तरिक ऋण भुक्तानी, वाह्य ऋण भुक्तानी, कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा, विविधमा समेत ठूलो रकम विनियोजन गरिएको छ । सबैभन्दा कम बजेट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पाएको छ । यो मन्त्रालयको बजेट ५४ करोड ५३ लाख रुपैयाँमात्र रहेको छ । जुन कुल विनियोजन बजेटको ०.०३ प्रतिशत हुन आउँछ ।
बढी बजेट पाएका मन्त्रालयहरु
- अर्थ मन्त्रालय : २ खर्ब २२ अर्ब (११.९८)
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २ खर्ब ३ अर्ब (१०.९५)
- गृह : १ खर्ब ९९ अर्ब (१०.७१ )
- भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ५० अर्ब (८.०९)
- सहरी विकास मन्त्रालय : ९२ अर्ब ६३ करोड (४.९८)
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८६ अर्ब २३ करोड (४.६४)
- रक्षा मन्त्रालय : ५९ अर्ब ८७ करोड (३.२२)
- कृषि तथा पशुपंक्षी विकास मन्त्रालय : ५७ अर्ब २९ करोड (३.०८)
- खानेपानी मन्त्रालय : २६ अर्ब ६३ करोड (१.४३)
- वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ७० करोड (०.८४)